काठमाडौँ, असाेज १९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पले पुर्याएको क्षति अवलोकन गरेका छन् । आज बिहान सेनाको हेलिकप्टरबाट बझाङ गएका प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुरमा भूकम्पले पुर्याएको क्षति अवलोकन गरेका हुन् ।
उनले त्यहाँका स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग भूकम्पबाट भएको क्षति र तत्काल राहतका लागि भएका कामहरूको जानकारी लिएका छन् ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि बझाङ गएका छन् ।
भूकम्पपीडितको अवस्था र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कनेछन् ।
बझाङमा मङ्गलबार अपराह्न २:४० बजे तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता चैनपुर र तालकोट केन्द्रबिन्दु भई दर्जनौं पराकम्प गएको छ ।
भूकम्पबाट बझाङमा ६० घरसहित एक सय ३५ संरचनामा क्षति पुगेको छ ।
केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको छ । भूकम्पमा परी जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको थियो ।