काठमाडौं, भदौ १८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सहकारी संस्थाहरु पैसा रोपेर पैसा फलाउन मात्र लागि परेको बताएका छन् । शनिबार लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्दै मेयर कार्कीले यस्तो बताएका हुन् ।
मेयर कार्कीले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको भएपनि सहकारीले उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने औंल्याए ।
न्यूनआय स्तर भएका मानिसहरुको जीवन स्तर उकास्नको लागि सहकारीहरुको दायित्व भएपनि सहकारीलाई घेराभित्र राखेर सिमित व्यक्तिमा मात्र लगानी गर्नाले जनस्तरमा राम्रो सेवा दिन नसकेको भन्दै मेयर कार्कीले चिन्ता प्रकट गरे । उनले व्यवसायीक र रणनीति योजना निर्माण गरी सहकारी संस्थाहरुलाई क्रियाशिल बन्नुपर्नेमा जोड दिँदै सहकारीहरु आम नागरिकको साथीका रुपमा अघि बढ्नुपर्ने बताए । मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेका सहकारी संस्थाहरुले बढीभन्दा बढी जनजीविकाका सवालमा योगदान गर्नुपर्ने धारणा राखे । सहकारीमा आम नागरिकको पहुँच स्थापित गरी अघि बढ्न सके मात्रै सहकारी अभियानले फड्को मार्ने मेयर कार्कीको भनाई छ ।
स्थानीय सरकारको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिए । सरकारको तीन खम्बे अर्थ नीतिमा रहेको सहकारीले समुदायमा आर्थिक पक्षलाई सबल बनाउनका लागि व्यवस्थापन कार्यमा विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय स्तरमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय सरकार र सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै उनले सहकारीको पुँजी र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन उनले सुझाव दिए ।
‘सहकारी संस्थाहरु पैसा रोपेर पैसा फलाउन मात्र लागि परे । मूल मर्म र भावनाअनुसार चलेनन् । ऋण र बचत मात्रै नभएर लघुउद्यम, कृषि, पशु जस्ता व्यवसायिक उत्पादनहरुसँग जोडिएर काम गर्नु पर्यो । शेयरधनी सदस्यहरुलाई गरिखाने वातावरण सिर्जना गर्न सक्नुपर्यो । नगरपालिका उद्यमशीलता तथा क्षमता विकासको लागि तालिम दिन र अभिभावकीय भूमिका निर्वाह गर्न नगरपालिका तयार छ ।’ उनले भने ।
नगरपालिकाले एक सहकारी न्युनतम एक उद्यमशीलताको नीति ल्याएको जानकारी दिँदै मेयर कार्कीले यस बर्षबाट नगरपालिकाले पहिचान गरेका नयाँ क्षेत्रमा बचतको न्युनतम ५ प्रतिशत लगानी गर्नुपर्ने बताए । उनकाअनुसार नगरपालिका अनुगमन र नियमन गर्न विज्ञता तथा सहकारी संस्थाका प्रतिनिधि समेटेर संयन्त्र बनाई कार्यविधिअनुसार अगाडी बढ्ने योजना रहेको जानकारी गराए । नगरपालिका कागेश्वरी मनोहरामा ७१ वटा सहकारी संस्थाले दर्ता गराएको तथ्यांक छ । एक सहकारीले उद्यमशीलताका क्षेत्रमा न्युनतम ५ प्रतिशत लगानी गरेपनि ८ करोड हुने र स्वावलम्बी, उद्यमशील र सक्षम नगरपालिका बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्- लक्ष्मीनारायण बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न