काठमाडौं, भदौ १६- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाबाचोकस्थित गणेश हिमाल माध्यमिक विद्यालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणससभाको प्रमुख अतिथि तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।
साधारणसभालाई संस्थाका उपाध्यक्ष राजु प्रसाद अधिकारीले स्वागत मन्तब्य तथा सचिव पुष्करराज नेपालले सञ्चालन गरेका थिए । शंकर थापाको अध्यक्षताको उद्घाटन सत्रमा मेयर कार्की, महांकाल भैरव बचत तथा ऋण सहकारीका महेश्वर दवाडी, नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम पहाडी, कागेश्वरी मनोहरा नगरपालिका सहकारी शाखा प्रमुख अनिता तामाङ, काठमाडौं जिल्ला सहकारी संघ संचालक सनोज भट्टराई, बागमती प्रदेश सहकारी संघ सचिव गोबिन्द प्रसाद काफ्ले, राष्ट्रिय सहकारी बैंक जोरपाटीकी सुमित्रा अधिकारी, नेप्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायतले शुभकामना मन्तब्य दिएका थिए ।
शुभकामना मन्तब्य दिने क्रममा मेयर कार्कीले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको भएपनि सहकारीले उद्यमशीलताका क्षेत्रमा लगानी गर्नुपर्ने औंल्याए ।
स्थानीय सरकारको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिए । सरकारको तीन खम्बे अर्थ नीतिमा रहेको सहकारीले समुदायमा आर्थिक पक्षलाई सबल बनाउनका लागि व्यवस्थापन कार्यमा विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय स्तरमा रहेका जनताको उत्पादन बढाउने, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय सरकार र सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै उनले सहकारीको पुँजी र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन उनले सुझाव दिए ।
सहकारीका अध्यक्ष एवम् सभाका अध्यक्ष शंकर थापाले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले लक्ष्मीनारायण सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताहरुका लागि समर्पित भएर काम गरेको उल्लेख गरे । त्यसैगरी संस्थाले जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन) र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन), बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)को सदस्य लिनुका साथै राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा अन्य बिभिन्न बाणिज्य बैंकमा खाता खोलि बचत गर्दै आएको र संस्थाले हिमाल रेमिट, प्रभु रेमिट, सिटि एक्सप्रेस, आइएमइ रेमिट र हुलास रेमिट मार्फत विभिन्न देशबाट पठाएको रकम भुक्तानी दिँदै आएको जानकारी दिए ।
संस्थाले आगामी आर्थिक बर्श्बत अन्य रेमिट तथा इ-सेवाको कारोबारको साथै स्मार्ट बैकिंग सेवा अन्तर्गत सहकारीको एप्स जडान गरि कारोबार सुरु गर्ने लक्ष लिएको छ ।
कार्यक्रममा कोषाध्यक्ष नारायण प्रसाद फुयालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै फुयालले संस्थाले आर्थिक बर्ष २०७९/८० मा ३ करोड ८७ लाख १४ हजार ३० पैसा ६४ आम्दानी गरि २ करोड ६ लाख ४० हजार १ सय ८२ रुपियाँ सत्तरी पैसा खर्च गरि १ करोड ८० लाख ७३ हजार ८ सय ४७ रुपियाँ ९४ पैसा खुद आम्दानी गरेको जानकारी दिए । उनकाअनुसार २०६४ सालमा स्थापित सहकारीमा स्थानीय १ हजार ८ सय ७० भन्दा बढी सेयर सदस्य रहेका छन् भने कुल ३० करोड रुपैयाँ बराबरको कारोबार भइरहेको जनाइएको छ ।
संस्थाले करिब ३ करोड लगानी गरेर बाबाचोकमा आफ्नै भवन निर्माण गरेको छ । सहकारीले अशोज १ गतेबाट आफ्नै नयाँ भवनबाट सेवा सुरु गर्ने बताएको छ ।
कार्यक्रममा संस्थाले उत्कृष्ट ऋणी साधुराम चौलागाई र उत्कृष्ट बचतकर्ता रविराज कार्कीलाई नगदसहित सम्मान गरेको थियो भने नगरपालिकाको वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयका ४ जना र वडा नम्बर ७ मा रहेको आनन्द भैरव माध्यमिक विद्यालयका ४ जना गरि ८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
साधारणसभामा वडा नम्बर ७ का वडाध्यक्ष भीमसेन थापा, आनन्द भैरव माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरस्वती थापा कार्की, गणेश हिमाल स्कुलका डाइरेक्टर दिनेश नेपाल, वडा सदस्य बिकाश केसी, तेजस्वी बचत तथा ऋण सहकारीका श्याम सुन्दर बिष्ठ, देवी बचत तथा ऋण सहकारीका प्रकाश ढुंगेल, घना मंगल बचत तथा ऋण सहकारीका भीमसेन न्यौपाने, महाकाय बचत तथा ऋण सहकारीका भगवान कार्की निवर्तमान अध्यक्ष, सल्लाकार, कार्यसमितिका पदाधिकारी, सेयर सदस्य तथा बचतकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्- सुकुल ओछ्याएर सुरु गरिएको लक्ष्मीनारायण सहकारीको आफ्नै सुविधासम्पन्न भवन उद्घाटन