Skip

Hamro Sanchar

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २० गते


काठमाडौं, साउन २०- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए ।

उनले भने, “कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस् ।”

यहाँस्थित पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो । उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भव्यता अध्ययनसमेत गरेको थियो ।

अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युत्को पहुँचको विषयमा केही प्रश्न उठाएको थियो। सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्