सुर्खेत, असार २४- उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् ।
विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।
बिहीबार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको उजुरी प्रहरीमा परेको थियो ।
वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ । बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन् ।
गुरुङ र शाही शनिबार नै पक्राउ परेका छन् । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकार समेत गरेका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।