Hamro Sanchar

वडाअध्यक्षको ज्याजति : अवैध ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी महिलामाथि हातपात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २३ गते


उदयपुर, असार २३- महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाश राउत पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय वेल्टारले शनिबार राउतलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष राउतले शुक्रबार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैध रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिइन् । सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

वर्षाको समयमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको, त्यसमाथि सामुदायिक वन क्षेत्रभित्र पर्ने खोलाबाट गिट्टी निकाल्न मिल्दैन भन्दा आफूमाथि हातपात गरेको श्रेष्ठको आरोप छ ।

वडाध्यक्ष रातउले भने आफूले कसैलाई हातपात र दुर्व्यवहार नगरेको बताएका छन् ।

राउतले गत ०७९ माघमा पनि स्थानीय राकेश कुमार हुजदारलाई ढुङ्गागिटीकै विषयमा कुटपिट गरी हात भाँचिदिएका थिए ।


प्रतिकृया दिनुहोस्