
काठमाडौं, असार २३- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित कलाकारले शनिबार बिहान सानो हात्तीवनमा वृक्षारोपण गरेका छन् ।
विरुवा रोप्न मन्त्री किरातीलाई गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकारहरु रीता थापा मगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारी पनि वृक्षारोपणमा सहभागि भएर किरातीलाई साथ दिए ।
ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा वृक्षारोपण गर्न कलाकारको बाक्लै उपस्थिती देखियो । किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपी लगायतको जातका विरुवा रोपिएको थियो ।
मन्त्री किरातीले आयोजना गर्ने सरसफाइ, वृक्षारोपण लगायतका कार्यक्रममा कलाकारलाई बोलाउने गरेका छन् । पशुपति क्षेत्रको सफाइमा पनि कलाकारले साथ दिएका थिए ।
वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले वृक्षारोपण जरुरी भएको गायक राजेशपायल राईले बताए । गतसाता गायक राजु लामाले पनि उपल्लो मुस्ताङमा ३ हजार भोटे पिपलका विरुवा रोपेका थिए ।

















