काठमाडौं, असार ९- अवैध रूपमा सीमापार गर्दै अमेरिका जान खोजेका कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ ।
अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए । राजदूत तुलाधरका अनुसार नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको छ ।