Hamro Sanchar

पशुपतिनाथको जलहरीमा १० केजी सुन नपुगे फाँसीको सजाय भोग्न तयार छु: सदस्यसचिव थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३० गते


काठमाडौं|, जेठ ३०- पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन रहेको दाबी गरेको छ ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन् ।

थापाले सो जलहरीमा १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले दुःख व्यक्त गरे । उनले आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गरे ।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राखे ।

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।


प्रतिकृया दिनुहोस्