
काठमाडौं, जेठ १४- नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए । मान्छे साहस, संकल्प गर्यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गरेकोले पार्टीले सम्मान गरेको पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे । उनको सो असाधारण काममा सघाउ पुर्याउने र प्रेरणा दिनेहरुप्रति पनि ओलीले आभार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताए । त्यस अवसरमा उनले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे ।
बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए ।
ब्रिटिस गोर्खा सेनामा कार्यरहँदा रहँदा बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।


















