
काठमाडौं, जेठ १२- सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको उक्त विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।
पहिलो पटक विधेयक पठाउँदा तत्कालीन राष्ट्रपति भण्डारीले विभिन्न बुँदाहरूमा पुनर्विचार गर्न संसदमा विधेयक फिर्ता गरेकी थिइन् । एक पटकका लागि विधेयक राष्ट्रपतिले संसदमा फिर्ता गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
संसदले दोस्रो पटक पनि उक्त विधेयक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रपति कार्यालय पठाएपछि संविधानअनुसार १५ दिन प्रमाणीकरण गर्नुपर्ने दायित्व पूरा नगरी भण्डारीले विधेयक त्यत्तिकै राखेकी थिइन् ।
नयाँ संसद बनेर रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सरकारले पहिलाकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउनेबारे छलफल थालेको थियो ।
यस विषयमा राष्ट्रपति पौडेलले पनि संविधान र कानुनविद्हरूसँग परामर्श गरेका थिए ।

















