Skip

Hamro Sanchar

प्रवासी नेपालीलाई उतैबाट मतदान गर्न पाउने व्यवस्था गरिने छ : प्रधानमन्त्री प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, २ गते


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा ९माओवादी केन्द्र० प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए ।

बैदेशिक रोजगारी सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै गर्ने उनको भनाइ छ । प्रधामन्त्री दाहालले भने, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।

उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए । राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको दाबी गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको उनले बताए ।

प्रधानमन्त्री दाहालले भने, संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौती छ । अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ । नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको दाबी गरे । निजी क्षेत्रका समस्या समाधानको पहल भएको जनाउँदै उनले देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम रहेको बताए ।

आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै उनले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पूरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । व्यापार घाटा कम गर्न ट्रान्जिट पोलिसीका विषयमा, हवाई रुटका बारेमा छिमेकी देशसँग मिलेर अगाडि बढ्ने छौ उनले भने ।


प्रतिकृया दिनुहोस्