
काठमाडौं, चैत २९- भारतको हिमाचल प्रदेशको धरमशालामा गत अप्रील ५ देखि ९ तारिखसम्म सम्पन्न भएको एकुरेसी प्याराग्लाईडिङ प्री-वर्ल्ड कप प्रतियोगितामा शंखरापुरका बिजय चौलागाईंको टिम नेपालले (५०० युरो) नेपाली ५० हजार रुपियाँसहित प्रथम स्थान हासिल गरेको छ । सो प्रतियोगितामा “इन्डिभ्युजल” तथा “टिम बिधा” गरी दुबै बिधामा नेपाली खेलाडिले जितेका हुन् ।
टिम बिधामा नेपालका बिजय चौलागाईं, बिजय गौतम, विशाल थापा र सनिज थापा सहभागी टिमले(५०० युरो) नेपाली ५० हजार रुपियाँसहित प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी अर्को टिम इक्यारो टिम नेपालले (३०० युरो) नेपाली ३० हजारसहित दोस्रो स्थान हासिल गरेको छ । सो टिममा नेपालका युकेश गुरुङ, सुरेन गुरुङ, अन्जन कुँवर र अमन थापा छ्न् ।
नेपाल, भारत, अमेरिका, स्पेन र नेदरल्यान्डसहित ५ देशका करिव १२० जना खेलाडी उक्त प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिताको पुरस्कार हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले बितरण गरेका थिए । त्यसैगरी सो प्रतियोगिताको सोलो पुरुषतर्फ नेपालका अमन थापाले (१६५० युरो) नेपाली रुपियाँ १ लाख ६० हजार पुरस्कारसहित प्रथम र विशाल थापाले (१०५० युरो) नेपाली रुपियाँ १ लाख ५० हजारसहित दोश्रो स्थान हासिल गरेका छन् । त्यसैगरी सोलो महिलातर्फ नेपालकि रिता थापाले (३०० युरो) सहित दोश्रो स्थान हासिल गर्न सफल भइन् ।
केही महिना अगाडि मात्र पोखरामा भएको प्याराग्लाईडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएपश्चात् हाल नेपालमा प्याराग्लाईडिङको सोलो उडान बन्द भएकाले प्याराग्लाईडिङको प्रशिक्षणमा समस्या परेको शंखरापुरस्थित शंखरापुर प्याराग्लाईडिङका संचालक पाईलट बिजय चौलागाईले बताए ।


















