
काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले भ्रष्टाचार गर्नकै निम्ति प्रधानमन्त्री र मन्त्री बन्ने प्रवृत्ति रहेको बताएका छन्। राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिमा बोल्दै शुक्रबार उनले राजतन्त्र वा गणतन्त्र जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुने गरेको बताए।
‘अनेकौं उपाय गरेर प्रधानमन्त्री र मन्त्री बन्ने अनि कसरी जोगिएर भ्रष्टाचार गर्ने हो त्यतातिर लाग्ने प्रवृत्ति देखिएको छ,’ गौतमले भने, ‘यस्तो किन हुन्छ, किन देशप्रति माया छैन। देश, परिवार र आफूलाई पनि भ्रष्टाचार गर्नेले बरबाद गरिरहेको छ।’उनले शासन प्रणालीले गर्दा भ्रष्टाचार बढेको दाबीसमेत गरेका थिए।
‘व्यक्ति(व्यक्ति भ्रष्टाचारमा संलग्न छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘निरंकुश शासन कायम गर्दैमा पनि भ्रष्टाचार नियन्त्रण हुन सक्दैन।’उनले जनतामा आधारित शासन र कानूनअनुसार कारबाही गर्न सक्ने व्यवस्था र प्रणालीको आवश्यकता रहेको उनले बताए। संसदबाट प्रधानमन्त्री र मन्त्री छान्ने व्यवस्था रहेसम्म भ्रष्टाचार बढ्ने उनले बताए।


















