काठमाडौं । उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताएका छन् । मंगलबार एकान्तकुना र ठूलो भर्याङस्थित यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले कमजोरीहरूलाई सुधार गर्दै यातायात व्यवस्था सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सुशासन र चुस्त सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै श्रेष्ठले भने, संघ र प्रदेश सरकारबीच समन्वय गरेर तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्छौं । कर्मचारी थप्न पर्ने ऐनअनुसार थपिन्छ । बिहानदेखि आएर पैसा तिर्नदेखि लाइसेन्स लिन देखिएका लाइन बस्नुपर्ने समस्या समाधान गर्छौं ।
प्रदेशले कार्ययोजना बनाए पनि त्यसलाई कार्यान्वयन चरणमा लैजान नसेकेको उल्लेख गर्दै उनले अगाडि भने, जनताले तुरुन्तै पाउनुपर्ने सेवा नपाएको अवस्था छ त्यसलाई सुधार गर्ने कार्ययोजना तुरुन्तै बन्छ । हामी हेरेर बस्दैनौँ, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।