
काठमाडौं । नेपाल टी-२० लिगमा आज हुने भनिएको विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको खेल अन्योलमा परेको छ। खेलाडीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेपछि खेल अन्योलमा परेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीच मंगलबार हुन लागेको खेल सुरु हुन सकेको छैन्। खेलाडीहरुले ‘टस’ को पेपर नै लिन नमानेपछि खेल सुरु हुन नसकेको हो। विराटनगर, जनकपर, काठमाडौं र सुदूरपश्चिमले पारिश्रमिक पाएको छैन।
विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबार (आज) देखि खेल नखेल्ने धम्की दिएका थिए। तर, सोमबार साँझदेखि आयोजकहरू नै सम्पर्कविहीन भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर प्रतियोगिता गरेको हो।
पटक-पटक मिति सारिएर मंसिर २८ देखि सुरु भएको नेपाल टी-२० लिगमा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् । नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्स, काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, र फार वेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।


















