
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई पनि सरकारमा ल्याउनलाई प्रयास थालेका छन् । यसका लागि प्रधनमन्त्री प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बताइएको छ ।
आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आएका छन् । प्रचण्डले असन्तुष्ट पक्षलाई फकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको सो पार्टीका नेताहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका एक नेताले यही पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
सरकारमा नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । यसैगरी एमालेकी ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमा राई र जनमत पार्टीका अब्दुल खान मन्त्री छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन । अन्य दलहरुलाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि उनीहरुको मन्त्रालय तोकिने बताइएको छ ।


















