काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थीहरु एकैठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै उद्देश्य नभएकाले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ। मुलुकलाई बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको छ । गठबन्धनको कुनै लक्ष्य छैन। त्यसैले वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ ।’
निर्वाचनबाट गठबन्धन जनादेश गुमाइसकेको उनको भनाइ छ । एमाले र माओवादी मिलेर सरकार बनाउने गृहकार्य भइरहेको बेलामा महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने बताएका हुन् ।