काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ ।
निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताएका छन् ।
ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका-५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।