Hamro Sanchar

लोकप्रिय मतका साथ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा- १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।

शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । एमालेको प्रभाव क्षेत्र मानिने झापा – १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले लोकप्रिय मतका बलमा तेस्रो प्रयासमा संसद यात्रा तय गरे । एमाले-राप्रपाको तालमेलपछि स्थानीय निर्वाचनको मत अनुसार सात हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिएका शर्माले त्यसको दोब्बर मतान्तरले बाजी मारे ।

पार्टी राजनीतिमा छलाङ मार्दै आएका शर्माले यसपटक संसदीय राजनीतिले पनि साथ दिएको छ । नेविसंघबाट राजनीति थालेका शर्मा झापाको धुलाबारी माविमा नेविसंघ इकाइ सभापति बनेका थिए ।


प्रतिकृया दिनुहोस्