Hamro Sanchar

गठबन्धनलाई भोट दिन देउवा, प्रचण्ड, नेपाल र चित्रबहादुरको अपील

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १ गते


Advertisement

काठमाडौं । सत्ता गठबन्धनमा रहेका ४ वटा दलका शिर्ष नेताहरुले गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्दै संयुक्त अपिल जारी गरेका हुन् ।

उनीहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । उनीहरूले कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबीसमेत गरेका छन् ।

‘लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ता उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं । यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं,’ संयुक्त अपिलमा भनिएको छ । साथै उनीहरूले चुनावलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो,’ अपिलमा भनिएको छ, ‘ तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं।’

साथै गठबन्धनका ४ शीर्ष नेताले ४ मंसिरमा हुने निर्वाचनबाट संसद विघटन गर्ने प्रवृत्तिलाई पराजित गर्नुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्