काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् ।
उनले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको भन्दै जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको समेत बताए ।
उनले गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम नै नभएको भन्दै गठबन्धन कायम राख्ने भनेका दलहरूले आ(आफ्नै घोषणापत्र जारी गरेको बताए । उनले अब नेपालमा फुटेका हाडीका खपटा जोडे जसरी जोडेर सरकार नबन्ने भन्दै राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो गर्न सक्ने एमाले मात्रै रहेको दावी गरे ।
ओलीले राप्रपासँग एमालेले केही स्थानमा चुनावी तालमेल गरेको भन्दै भएको सहमतिको पालना गर्न एमाले प्रतिवद्ध रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माओवादी र एमाले पार्टी एकता गरिएपनि प्रचण्डको चुलबुले बानीले पार्टी एक रहन नसकेको बताए ।