Skip

Hamro Sanchar

किसान श्रेष्ठको प्रतिवद्धता : अवसर पाए बाराको विकासमा फड्को मार्ने गरी काम गर्छु

प्रकाशित : २०७९ कात्तिक, १८ गते


बारा, कात्तिक १८- पुर्व श्रम मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले बारा–४ का मतदाताले एकपटक अवसर दिए विकास निर्माणमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

बाराको विश्रामपुर गाउँपालिका १, छ्तवामा भएको रात्रीकालिन कार्यक्रमलाई सम्वोधन गर्दै उम्मेदवार श्रेष्ठले मतदातालाई बारा ४ को विकासको लागि एकपटक अवसर दिन अनुरोध गर्दै निर्वाचित भए जिल्लाको विकासमा ठुलो फड्को मार्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन्।

‘बारा जिल्लाका मतदाताको विश्वास र भरोसालाई सधैं शिरमा राखेर म सधैं यहाँका जनताको सेवामा लाग्ने प्रतिवद्धता जनाउँछु’ उम्मेदवार श्रेष्ठले भने ‘हामी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भइसके पछि बारा क्षेत्र नं ४ लाई विकास निर्माणमा नेपालकै नमुना क्षेत्र बनाउँछौ, यहाँका बेरोजगार युवाहरूलाई रोजगारीको व्यवस्थापन गर्नेदेखि लिएर जनताका हरेक समस्या समाधान गर्नेछौ ।’

२०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित श्रेष्ठले ५ दलीय गठबन्धनका शीर्ष नेतृत्वहरुको अनुरोधमा आफू बारा–४ बाट उम्मेदवारी दिएको बताएका छन् । ‘मलाई विपक्षीहरुले टुरिष्ट उम्मेदवार भनेर चर्चा चलाउँछन्, तर एक दशकदेखि बारामा मेरो आफ्नो व्यवसाय छ, ८० प्रतिशत सम्पति मेरो बारा जिल्लामा नै छ, नेपालको संविधान अनुसार हरेक नेपालीले नेपालको कुनै पनि कुनामा गएर चुनाव लड्न पाउने व्यवस्था बमोजिम नै शीर्ष नेतृत्वको अनुरोधमा मैले बाराबाट चुनाव लडेकाे हुँ’ श्रेष्ठले भने ‘५ वर्षमा तनहुँ जिल्लामा धेरै विकास निर्माणका कामहरु अगाडि बढाए अव यहाँका गरिव, दलित, सुकुम्बासी लगायत बेरोजगारी समस्या र विकास निर्माणको काम गर्नको लागि म बारा–४ मा आएको हुँ’ बारा ४ को विकासको लागि केन्द्र र प्रदेशको बजेटको बहार ल्याउन प्रतिनिधि सभा सदस्यमा आफूलाई र प्रदेशसभामा जितेन्द्र सोनल जिताउन पनि उम्मेदवार श्रेष्ठले मतदाताहसँग अनुरोध गरेका छन् ।

बिहीबार आयोजित रात्रीकालिन सभामा लोसपा मधेस प्रदेश इन्चार्ज तथा प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलले राष्ट्रपतिलाई नागरिकता विधेयक रोक्ने अधिकार संविधान र कानुनमा नभएको बताएका छन् ।

‘एमालेकै कारण राष्ट्रपतिले नागरिकता विधेयक रोक्दा आज मधेसका लाखौं जनता नागरिकता विहीन हुनुपरेको छ, जसले यहाँका लाखौं जनताको पेटमा लात हान्ने काम एमालेबाट भयो’ उम्मेदवार सोनलले भने ‘विद्यालय भर्ना हुँदा,बैंकमा खाता खोल्न, विदेशमा जान, नोकरी गर्न विना नागरिकता देशमा एकदिन चल्न सक्ने अवस्था छैन तर ५ दलका शीर्ष नेताहरुको अगुवाइमा नागरिकता विधेयक अगाडि बढिरहेको अवस्थामा एमालेका कारण राष्ट्रपतिले विधेयक रोकर ठुलो गल्ती गर्नुभयो, यसको परिणाम जनताले निर्वाचनमा अवश्य देखाउनेछन्’


प्रतिकृया दिनुहोस्