Hamro Sanchar

काठमाडौँबाट एक जना मात्रै यात्रु लिएर विराटनगर पुग्यो जहाज

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, १६ गते


Advertisement

काठमाडौं, कात्तिक १६- कहिलेकाँही यात्रुले जहाजको टिकट नपाए जस्तै कहिलेकाँही जहाजले पनि यात्रु पाउँदैनन् । तर सेड्युलमा बसेका जहाज यात्रु नपाए पनि उड्नुपर्ने बाध्यता रहन्छ । मंगलबार बुद्ध एयरको जहाजलाई पनि त्यस्तै भएको छ ।

बुद्ध एअरको ७२ सिटको जहाज मंगलबार एउटा मात्रै यात्रु लिएर काठमाडौंबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए।

पौडेलले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उनले लेखेका छन्, ‘काठमाडौंबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको बताए । अहिले काठमाडौंबाट बाहिर जाने यात्रु नभएको र काठमाडौं फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्