धनगढी, असोज ६- कैलालीमा एक महिलाको शव भेटिएको छ । गौरीगंगा नगरपालिका-५ मा बसोवास गर्ने अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको बिहीबार बिहान शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेका अनुसार ललिताको शव हत्या गरेको अवस्थामा भेटिएको थियो । त्यस्तै उनकी १७ वर्षीया छोरीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । उनको घाँटीमा चोट लागेको हुनाले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
डीएसपी पाण्डेले दिएको जानकारी अनुसार रोजगारीका सिलसिलामा भारतमा रहेका ललिताको श्रीमान शेरबहादुर नामजाली मगरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए र उनको खोजी भइरहेको छ ।