काठमाडौं, भदौ ५- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ ।
क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । गिरिको पार्थिव शरीर विहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेसम्म राखेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको पनि नेपाली कांग्रेसले जनाएको छ ।
श्रद्धान्जली कार्यक्रमपछि शवयात्रासहित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
प्रखर वक्ता तथा समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराई नेपाल फर्किएका थिए । गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थिए ।
नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिराहा १ बाट निर्वाचित सांसद हुन् ।