धरान, साउन १३- शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको चुरिफुरी समाप्त हुने ठोकुवा गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी धरानले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले ओली र एमाले पार्टीलाई आगामी निर्वाचनमा ठेगान लगाउने बताएका हुन् ।
मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद् विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरि संविधान र गणतन्त्रको रक्षा गरेको बताए ।
उनले ओली राष्ट्रघाती भएकाले जनताले आगामी निर्वाचनमा एमालेलाइ देशै भरी चुनाव हराएर धुलो चटाउने बताए । मन्त्री चौधरीले अबको निर्वाचनमा वर्तमान पाँच दलीय गठबन्धनसहित अर्को दल थपिएर छ दल मिलेर चुनाव लडने तयारी भैरहेको बताए ।