काठमाडौं, साउन १२- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।
समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो ।
‘समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको छ,’ आयोग स्रोतले भन्यो, ‘पार्टी झन्डा र छाप पनि फेरिएको छ ।’
चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ। यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो ।
खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा केही समय पहिले दर्ता गरेका थिए ।
जसपा संघीय परिषदबाट हटेपछि बाबुराम नयाँ पार्टी गठनमा जुटेका हुन् । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन् ।
बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार नेपाल समाजवादी पार्टी आयोगमा आज दर्ता भइसकेको छ ।