Hamro Sanchar

आजदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै राख्न आग्रह

प्रकाशित : २०७९ साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५- आजदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम नहुने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कामपाले जारी गरेको सूचनामा यो अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरिएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।


प्रतिकृया दिनुहोस्