काठमाडौं, असार १७-
मितिः २०७९ असार १५ गते
समयः बिहान ८ बजे
स्थानः डोरमणि पौडेलको घर, हेटौँडा–११, नवलपुर
पात्रहरुः डोरमणि पौडेल, दीपक निरौला, डा. विश्वराज जोशी (भिसी), डा. सतिश देव (रेक्टर), राजेश प्रसाई (रजिष्ट्रार)
विषयः भेटघाट, छलफल
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैँमा भद्रगोल भइरहँदा यसलाई बागमती प्रदेश सरकारको गौरव बनाएर अघि सारेका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा एउटा छलफल आयोजना भयो बिहानै । प्रतिष्ठानमा के के भइरहेको छ, के के हुनसक्छ ? के के गर्न सकिन्छ ? यसै विषयमा पौडेलले बुझ्न चाहेको भन्ने सूचना थियो । तर घटनाक्रम फरक ढंगले बढ्यो । त्यहाँ भएका सबै प्रतिष्ठान रेक्टर डा. सतिश देवमाथि खनिन थाले ।
अरु त अरु भइहाले । डोरमणि पौडेलको आड पाएपछि एमाले प्रमुख सचेतक दीपक निरौलाले मदन भण्डारी फाउन्डेसनजस्तै गरी माओवादी कोटाबाट त्यतिखेर नियुक्त रेक्टर डा. देवलाई मर्यादा भुलेर धम्काउन थाले । तपाईंकै कारण प्रतिष्ठान अलपत्र भयो । तपाईंकै सूचनाले प्रतिष्ठान अरु भद्रगोल हुँदैछ, आदिइत्यादी । दिनमा दुई घण्टा बस्ने भए हुन्छ भन्ने शर्तमा प्रतिष्ठानमा भिसी भएका डा. विश्वराज जोशी छेउमा बसेर ‘सतिशले यसो–यसो गर्यो’ भनेर त्यो उमेरमा सफेद झूट बोल्दै आफू पानीमाथिको ओभानो हुन खोजे । डोरमणि पौडेल कुरा सुनिरहे ।
सांसद दीपक निरौलाको व्यवहारले रेक्टर दुःखी छँदैथिए । त्यसमाथि खनिए आफू डोरमणि पौडेलको मुख हेरेर आएको होइन, ४–४ वटा मेडिकल कलेज चलाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नै विशेष आग्रह गरेकाले हार्न नसकेर आएको बताउँदै र पत्नीलाई चौथो श्रेणीको जागिर खुवाएको आरोपमुक्त हुन नसकेका राजेश प्रसाईं । जो हेटौँडा अस्पतालका अध्यक्ष र प्रतिष्ठानका रजिष्ट्रार पनि हुन् ।
रेक्टर डा. देवले भने, ‘तपाईंहरुले मेरो अपमान गर्न बोलाएको कि के हो ?’
त्यसमाथि रजिष्ट्रार प्रसाईंले थपे, ‘यहाँको सूचना बाहिर लैजाने काम पनि भइरहेको छ, कसरी भिसी अफिसमा दुई घण्टा भन्दा बस्दैन भन्ने सूचना आयो ? हामीले त कतै भनेका छैनौँ ।’
प्रतिष्ठानलाई राम्रोसँग चलाउन सरसल्लाह गर्नु पर्नेमा जसले सपना देखेर नियुक्त गरेको, उनैको घरमा उनैका पार्टी सांसद र भिसी तथा जुनियर रजिष्ट्रार लगाएर रेक्टर शिक्षाध्यक्षमाथि अपमान भएको, अझ सांसद दीपक निरौलाले मर्यादा भुलेर सम्झाउन खोजेको विषय उनीहरुले नै बाहिर ल्याए ।
एमालेवृत्तले चर्चा गरे बजारमा कि, डोरमणि पौडेलको घरमा रेक्टरलाई मार्गप्रशस्त गर्न थर्काएर पठाइयो । एमालेले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मा बाधक बन्नेलाई पाखा लगाउन सक्ने भन्दै रेक्टरलाई सम्झाइबुझाइ गरिएको छ ।
यो प्रसंग बाहिर आएपछि हामीले रेक्टर डा. देवसँग सम्पर्क गर्दा उहाँले केही बताउनु चाहनु भएन । सम्पर्कमै आउन मान्नु भएन । यसपछि हामीले काठमाडौं सहकर्मीलाई एमाले जिल्ला पार्टी कार्यालयमा रहेका निरौलासँग समय मागेर, अनुमति लिएर उनीसँगको कुराकानी रेकर्ड गर्यौँ । कुराकानीमा त झन निरौलाले रेक्टरलाई ‘खुस्केको हो कि’ भनेर अपमान गरेका छन् । सुन्नुहोस् कुराकानीः
कुराकानीः दीपक निरौला, प्रदेश सांसद, बागमती प्रदेश सभा
हामीः तपाईंले रेक्टरलाई बोलाएर डोरमणिको घरमै गाली गर्नु भएको हो ?
निरौलाः यो रेक्टर अलि खुस्केछन् कि क्या हो ? उनी आफैँ डोरमणिको घरमा आएका हुन्, उनले गरेको कमीकमजोरीबारे सम्झाइएको हो ।
हामीः तपाईंहरुले युवासंघको उपाध्यक्ष लगाएर रेक्टरलाई मुद्दा हालिएको छ नि ?
निरौलाः मुद्दा कसले हाल्यो थाहा भएन, मुद्दा सायद होला, त्यही भएर हामीलाई भेट्न आएका होलान् । उहाँले बुझ्नु पर्ने चैँ के हो भने त्यो प्रतिष्ठान, जुन उद्देश्यले स्थापना गरिएको हो, हाम्रो सरकारको पालामा नियुक्त कर्मचारीहरुले के गरिरहेका छन्, बुझ्न खोजिएको हो । उहाँले गरेका गलत कर्मबारे सम्झाउन बुझाउन खोजिएको हो । समय लिएर आउनु भएको हो । नियुक्ति हामीले दिने, अनि त हाम्रो अधिकार हुन्छ, हिस्सा हुन्छ, संस्थाको उद्देश्यअनुसार अघि बढ्न र जाहेज काममा लाग्न सम्झाउन खोजिएको हो ।
हामीः मुख्य समस्या भिसी र रेक्टरबीचकै समन्वय नभएको रहेछ नि ?
निरौलाः उहाँले सरकारलाई गलत सूचनाका दिएका कारण बिएस्सी नर्सिङ मात्र होइन, एमबिबिएसको पढाइ पनि रोकिने भएको छ । हामीले सम्झाउन नपाउने ?
हामीः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि मदन भण्डारी फाउन्डेसन जसरी चलाउन खोजिएको हो त ?
निरौलाः यो चैँ अबुझहरुले गरेको कुरा हो । बुझेर बोल्दा हुन्छ । सरकारले सही ढंगले चलाउनु पर्छ । संसदको काम तलब भत्ता खुवाउनु पर्ने हुन्छ ।
हामीः समाधान के हो त ?
सरकारले प्रतिष्ठानलाई अघि बढाउन पर्छ । काम रोकिनु हुन्न ।
भएको चैँ के हो त ?
१४ असारमा प्रतिष्ठानको वार्षिकोत्सव थियो । शुरुमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा (सहकुलपति)लाई प्रमुख अतिथि बनाइएको थियो । रातारात प्रमुख अतिथि बनाइए पूर्व मुख्यमन्त्री डोरमणि पौडेल । प्रतिष्ठानका कुलपति (मुख्यमन्त्री) राजेन्द्र पाण्डेलाई समेत खबर भएन ।
त्यहीँ डोरमणि पौडेलले रेक्टर सतिश देवलाई ‘समय छ, कुरा थियो’ भनेपछि रेक्टरले हजुरले बोलाएपछि आइहाल्छु नि भनेको स्रोतको दाबी छ । लगत्तै रजिष्ट्रार प्रसाईंले डोरमणि सरको घरमा जान खबर गरेपछि रेक्टर सतिश गएका हुन् । त्यहाँ सबै गएका हुन् । तर सांसद दीपक निरौलाले भने पटकपटक उनी आफैँ भेट्न आएको र सम्झाएको मात्र भनेनन्, ‘यिनी खुस्किएको’ हो कि भनेर शिक्षा अध्यक्षको बेहद अपमान गरेका छन् ।
‘तपाईं आफैँ गएको कि, डोरमणि पौडेलको घरमा बोलाएपछि जानु भएको ?’ जिज्ञासामा रेक्टर सतिश देव पुनः प्रतिक्रिया दिन तयार हुनुभएन ।
स्रोत भन्छः असार १४ गतेको वार्षिकोत्सवमा स्वागत मन्तव्यमा रेक्टरलाई राखेर रजिष्ट्रार प्रसाईंलाई धन्यवाद ज्ञापनमा राखिएको थियो । रेक्टरमाथि अपमान गर्न डोरमणि पौडेलकैै निर्देशनमा अनेक तिकडम भइरहेको छ, एमालेले यसको जवाफ ढिलोचाँडो दिनैपर्छ ।
एमाले बागमती प्रदेश प्रमुख सचेतक दीपक निरौलाद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टरलाई ‘खुस्किएको’ भन्दै गालीगलौज