Hamro Sanchar

मनोहरा खोलामा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन तीन नगर प्रमुखको अपिल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १५ गते


Advertisement

काठमाडौं, असार १५- निरन्तर भारी वर्षाका कारण मनोहरा खोलामा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन भनिएको छ । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले सार्वजनिक अपिल जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।

मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेको भन्दै कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जिवन खत्री र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा यस्तो अमुरोध गरेका हुन् ।

मंगलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरूले भने, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्तीलगायतको अन्य संरचनामा समेत क्षति पुर्‍याउँदै आएको छ । यसबाट मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं ।’’

अपीलमा हाल अल्पकालीन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन प्रयास भइरहेको उल्लेख छ । साथै धन जनको क्षति हुनबाट रोक्ने कार्यमा सहयोग गर्न पनि नगर र त्यस क्षेत्रका स्थानीयहरुलाई आह्वान गरिएको छ ।


प्रतिकृया दिनुहोस्