काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका तथा नयाँ सञ्चालन गर्न लागिएका मासु पसलले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा २०८३ मंसिर १ गतेदेखि ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लागू हुने गरी सूचना प्रकाशित गरिसकेको छ। सोहीअनुसार पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएको मापदण्ड पूरा गरी इजाजतपत्र लिनुपर्ने नगरपालिकाले जनाएको हो।
नगरपालिकाका अनुसार पशु वधशाला तथा मासु जाँच नियमावली, २०५७ को नियम ५ र ८ बमोजिम तोकिएको मासु पसलको मापदण्ड पूरा गरी इजाजतपत्र लिनुपर्नेछ। इजाजतपत्र नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।
सूचनामा इजाजतपत्रबिना मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजारसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उल्लेख छ।
यस्ता छन् मासु पसलका मापदण्ड
नगरपालिकाले सार्वजनिक गरेको मापदण्डअनुसार बिक्रीका लागि राखिएको मासुमा छाप लगाइएको हुनुपर्ने, मासुका अंश बिक्रीको अन्तिम समयसम्म देखिने गरी राख्नुपर्ने र मासुमा पानी छर्कने, पानीमा डुबाउने वा पानीमा भिजाइएको कपडाले छोप्न नपाइने व्यवस्था छ।
त्यस्तै, मासु झुण्ड्याउँदा छाना, भित्ता, भुइँ वा खम्बामा नछुने गरी झुण्ड्याउनुपर्ने, मासु तौलने तराजु अन्य वस्तु वा भुइँमा लापरबाहीपूर्वक नराख्नुपर्ने र प्रयोग नभएको अवस्थामा औजार तथा टेबल सफा राख्नुपर्ने उल्लेख छ।
मासुमा कुनै पनि प्रकारको रंग, औषधि वा रसायन प्रयोग गर्न नपाइने तथा बध गरिएको पशुको भित्री आँत, भुँडी, टाउको, खुर र राँतीजस्ता भाग मासु पसलमै बिक्री गर्नुपरेमा मासुसँग लसपस नहुने गरी अलग्गै राख्नुपर्ने मापदण्डमा उल्लेख छ।
मासु पसलका लागि पर्याप्त क्षेत्रफल, फोहोर तथा पानी नजम्ने र नसड्ने गरी सरसफाइ गर्न सकिने व्यवस्था, सफा पानीको पर्याप्त प्रबन्ध, पक्का भुइँ तथा सजिलै सफा गर्न सकिने भित्ता, बिक्रीमा राखिएको मासु झुण्ड्याउने हुक, उपभोक्ताले बाहिरबाटै देख्न सक्ने व्यवस्था र बिक्री कक्षमा चिस्यानका लागि कम्तीमा फ्रिजको व्यवस्था हुनुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले मापदण्ड पूरा गरी समयमै इजाजतपत्र लिन सम्बन्धित मासु व्यवसायीलाई आग्रह गरेको छ। सूचनामा थप जानकारीका लागि नगरपालिकाका सम्पर्क व्यक्ति गोकुल कट्टेलसँग सम्पर्क गर्न सकिने उल्लेख छ।

































