Skip

Hamro Sanchar

चुमनुव्रीमा बाढी आएपछी प्रशासनले भन्यो : मनास्लु पदयात्रा नगर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, गोरखा । मनास्लु क्षेत्रअन्तर्गत नुव्री भ्यालीतर्फ पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले पदयात्रीलाई आग्रह गरेको छ ।

आज बिहान चुमनुव्रीको प्रोक नाम्रुङस्थित थेराङ खोलामा बाढी आउँदा गापदेखि नामरुङ जंगल जाने झोलुंगे पुल बगाएकाले पदयात्रामा प्रशासनले रोक लगाएको हो । बाढीले चुमनुव्री–४ र २ जोड्ने झोलुंगे पुल बगाएको छ ।

मनास्लु र लार्केपास पदमार्गको यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न नगराउन आग्रह गरिएको हो ।

प्रशासनले कुनै विपद्को घटना वा आकस्मिक अवस्था सिर्जना भए तत्काल नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि आग्रह गरेको छ ।

बाढीले चुमनुव्री–४ का उर्गिन लामा, नगु छिरिङ लामाको घर बगाएको छ । लाक्पाभुटी लामा, दोर्जे लामाको घर बाढीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

त्यस्तै चुमनुव्री–४ र २ जोड्ने फलामे पुल पनि बगाएको छ । नामरुङ हुँदै ल्हो जाने फलामे पुल पनि बगाएपछि आउजाउमा समस्या थपिएको हो ।

 


प्रतिकृया दिनुहोस्