Skip

Hamro Sanchar

गोरखाको चुमनुब्रीस्थित थेराङ खोलामा बाढी, ४ घर र पुल बगायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।

आज बिहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उनले बताए । बाढीले सोही ठाउँको झोलुंगे पुल पनि बगाएको कार्यालयले जनाएको छ ।

पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरू समस्यामा पर्ने जनाइएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अल्पकालीन रूपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने बताए ।

खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्