Skip

Hamro Sanchar

भोटेकोसी बाढी : रसुवाका ३ हजार सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोसी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो धनजनको क्षति भएको छ ।

ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ ।

बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकोप्टरमार्फत नुवाकोट र काठमाडौंतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिएको छ ।

विपद्पछि जिल्लामा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ठूलो छ । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गत २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्कबाहिर छन् । यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले बताए ।

विपद्का क्रममा फेला परेका शवमध्ये ६ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ । बाँकीको सनाखत प्रक्रिया तथा डीएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए ।

बाढीपहिरोले रसुवाको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । त्यस्तै, ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । ६ वटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्‍याएको छ । जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ ।

विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ ।


प्रतिकृया दिनुहोस्