१९ भदौ, ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन् ।
राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् ।
फूल प्रसाद ग्रहणपछि उनले मन्दिरका पुजारीलाई दक्षिणा प्रदान गरे ।
कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति कृष्ण मन्दिर पुग्दा ललितपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री जगदीश खरेल, बागमती प्रदेशका कार्यवाहक सभामुख अप्सरा चापागाईँ, पूर्वमन्त्री मदुसुधन पौडेल, प्रेमभक्त महर्जन, प्रदेश सभासद रघुनाथ महर्जनसमेत उपस्थित भएर स्वागत गरेका थिए ।
मन्दिरमा दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्ण मन्दिरहरूमा आज दिनभर नै भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको थियो ।
































