११ भदौ, काठमाडौं । भोटेकोसि बाढि बिपत्तिको सामना गर्न राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन्।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको बताए।
थापाका अनुसार बैठकमा सरकारको तर्फबाट भइरहेको खोज, उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो। दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरिएको थियो।
‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो,’ थापाले भने, ‘पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ।’
संयन्त्रमा संसदमा नभएका दलहरूलाई पनि समेटिने उनले जानकारी दिए। बैठकले विपद्पछिको पुनर्निर्माण र राहत वितरणलाई प्रभावकारी बनाउन संसद्मार्फत एक विशेष समिति वा संयन्त्र बनाउने प्रस्ताव गरेको छ।
सभापति थापाले विगतका विपद्हरूमा केही समयपछि प्राथमिकताहरू फेरिने र पीडितहरू अलपत्र पर्ने प्रवृत्ति देखिएकाले यसपटक त्यसको पुनरावृत्ति हुन नदिने बताए ।






























