११ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि छन्।
उनीहरू आज बिहान साढे ९ बजे काठमाडौँबाट सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा व्यापक मात्रामा जनधन क्षति गरेको छ।
त्यही बेलादेखि प्रधानमन्त्री शाह उद्धार र राहतलाई प्रभावकारी बनाउन सक्रिय भएका हुन्।
बाढीलगत्तै उनले उच्चस्तरीय बैठक राखेर उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई निर्देशन दिएका थिए।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समय सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।
साथै सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम छ।































