७ भदौ बारा । बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणलाई स्तब्ध बनाइरहेका बेला कलैयाबाट २ वर्षीया बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा त्रास बढेको थियो।
रातभरको खोजीपछि बालिका सकुशल फेला परेकी छिन् ।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी हुन्।
मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। बालिकालाई तत्काल नालाबाट उद्धार गरी ती महिलाले आफ्नै घरमा लगेर हेरचाह गरेकी थिइन्।
पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बालिका बेपत्ता भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको कमान्डमा नेपाल प्रहरीसहित सुरक्षा निकायले रातभर खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो भने नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ ।




























