Skip

Hamro Sanchar

केपी ओलिको दाबी : बालेन सरकार कुनै हालतमा ५ वर्ष टिक्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

६ भदौ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार ५ वर्ष कुनै हालतमा नटिक्ने दाबी गरेका छन्।

अराजकता र विदेशी शक्तिको आड भरोसामा बनेको सरकारलाई देश जिम्मा लगाएर बस्न नसकिने उनको भनाइ छ।

आजदेखि भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा जनतालाई तर्साएर र बाकस साटेर बहुमत देखाइएको आरोप लगाएका छन् ।

‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर र बाकस साटेर बहुमत ल्याएको देखाइयो,’ ओलीले भने, ‘यो सरकार तपाईंहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन। बहुमत आयो भन्दैमा जनताले पाँच वर्ष लुटमार गर्न दिएका होइनन्।’

अध्यक्ष ओलीले रास्वपालाई भोट दिएर बहुमत बनाएकोमा अहिले जनतालाई पश्चात्ताप भइसकेको दाबी समेत गरे।

सरकारको स्वेच्छाचारिताविरुद्ध जनता आफैं आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टीपंक्तिलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन समेत दिए।

वर्तमान सरकारका कारण मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको जिकिर गर्दै उनले अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्नेमा जोड दिए। आफूहरू दरबार छोडाएर गणतन्त्र ल्याउने शक्ति भएकाले कसैसँग नडराउने भन्दै उनले भने, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ, हामीलाई मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौं।’

सरकार र उसका समर्थकहरूले सामाजिक सञ्जालमा समेत त्रासको वातावरण सिर्जना गरेको ओलीको आरोप छ। ‘एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ १ सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन, हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ,’ उनले भने।

सामाजिक सञ्जालको आक्रमणबाट नडराई सत्य, जनता र जनजीविकाको पक्षमा खुलेर आवाज उठाउन उनले नेता-कार्यकर्तालाई आग्रह गरे।

 


प्रतिकृया दिनुहोस्