Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विदेशस्थित नेपाली नियोगको घरभाडा खर्च १ अर्ब ३९ करोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूको वार्षिक घरभाडा खर्च १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले आज प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद निश्कल राईले उठाएको प्रश्नको जवाफ दिने क्रममा उक्त रकम गत आर्थिक वर्ष २०८२र८३ मा विदेशस्थित नेपाली नियोगहरूको घर भाडा शीर्षकमा खर्च भएको जानकारी दिएका हुन् ।

“विदेशस्थित नियोगहरूमा घरभाडा शीर्षकमा गत आर्थिक वर्षमा करिब एक अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ,” परराष्ट्रमन्त्री खनालले भने, “सो आर्थिक वर्षमा परराष्ट्र मन्त्रालयका लागि विनियोजित सात अर्ब ८४ करोडको यो करिब १७ प्रतिशत हो ।”

हाल परराष्ट्र मन्त्रालयअन्तर्गत १५ वटा महाशाखा, दुईवटा विभाग, एक सम्पर्क कार्यालय, ३१ वटा दूतावास, तीन स्थायी नियोग र १० महावाणिज्य दूतावास रहेका छन् ।

सरकारले यीमध्ये तीनवटा दूतावास, दुईवटा महावाणिज्य दूतावास र एउटा सम्पर्क कार्यालय चालु आर्थिक वर्ष २०८३र८४ मा बन्द गर्ने निर्णय गरिसकेको छ ।

सरकारले यस वर्ष दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कका रहेका नेपाली दूतावास बन्द गर्दै छ । अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेङ्दुमा रहेको महावाणिज्यदूतावास बन्द गर्दै छ । भारतको विशाखपटनममा रहेको दूतावासको शाखा पनि यसैवर्ष खारेज गरिँदै छ ।

विदेशस्थित केही नियोगका आफ्ना भवन रहेका छन् भने केहीले जग्गा खरिद गरेका छन् । खरिद गरेका जग्गामा दूतावास भवन निर्माण हुन नसक्दा बर्सेनि करोडौँ रुपैयाँ घर भाडामा खर्च हुने गरेको छ ।


प्रतिकृया दिनुहोस्