Skip

Hamro Sanchar

रोल्पाका पहिरो पिडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

काठमाडौँ । रोल्पाका दुई गाउँपालिकामा पहिरोबाट प्रभावित परिवारलाई सरकारले तत्काल राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितलाई राहत उपलब्ध गराउने जनाएको हो ।

कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै पहिरोमा परी मृत्यु भएकाका परिवारलाई आर्थिक सहायता तथा बेपत्ता र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराइने जानकारी दिएका छन् । पहिरोका कारण घरबारविहीन भएकाहरूलाई अस्थायी आवास तथा निजी आवास पुनर्निर्माणका लागि आवश्यक सहायता उपलब्ध गराउने सरकारको तयारी छ ।

पहिरोमा परी हालसम्म १५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुई जना अझै बेपत्ता रहेको जनाइएको छ । साउन २७ गते पहिरो गएपछि लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीसहित सुरक्षा अधिकारी उद्धार तथा खोजीका लागि घटनास्थल पुगेका थिए । त्यसपछि साउन २८ गते पनि अविरल वर्षासँगै आएको पहिरोले थप क्षति पुर्‍याएको थियो ।

पहिरोका कारण निजी घर, गोठ तथा घुम्ती पसलमा क्षति पुगेको छ । घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैबीच, रोल्पाका सांसद वर्षमान पुन ‘अनन्त’ले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर पहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै प्रभावितलाई तत्काल राहत तथा आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरेका थिए ।

सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।


प्रतिकृया दिनुहोस्