Skip

Hamro Sanchar

रोल्पा पहिरो : मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, काठमाडौं । अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा हिजो बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।

उक्त पहिरोमा परी बेपत्ता ५ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ।

उक्त पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। लगातार वर्षाको कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाई परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन्।

मृत्यु हुनेहरुमध्ये एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्युठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीकार्यको लागि परिचालन भएको छ।

त्यस्तै बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन्।

उक्त पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिदा पशु चौपाया समेत बेपत्ता भएका छन् ।


प्रतिकृया दिनुहोस्