काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले चुनावअघि विदेशका गल्लीमा स्टिकर टाँसेर युवालाई स्वदेश फर्काउने योजना कहाँ गयो भन्दै प्रश्न गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामनाको सन्दर्भ जोड्दै उनले चुनावताका रास्वपा सभापति रवि लामिछानेले गरेको वाचा स्मरण गराएका हुन् ।
उनले २०८२ को भदौ तेस्रो साता गरेको जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको र त्यसपछिको जनादेश र मतादेशको वर्तमान सरकारले प्रतिनिधित्व गर्दै आएको उल्लेख गरेका छन् ।
सरकारले १०० दिनमा नै स्टिकर टाँस्ने र विदेशिएका युवा फर्काउने घोषणा गरेको तर, एकजनालाई पनि फर्काउन नसकेको उनको भनाइ छ ।
“जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो रु उनीहरूले चाहेको सुशासन कहाँ छ रु विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ रु,” आङ्देम्बेले भने, “चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन् । तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एकजना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न हो ।”
सरकारको घोषणाले उत्साही युवाहरू फेरि विस्तारै निराशातिर फर्किएको महसुस हुन थालेको उनको भनाइ छ । त्यसका केही ज्वलन्त घटना देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलले गरेको आत्मदाह रहेको उनको ठहर छ ।
उनले युवालाई मतदान गर्ने जमात मात्रै नभई, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए छन् ।!































