Skip

Hamro Sanchar

लालबकैया खोलामा नुहाउने क्रममा ३ बालबालिका बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २६ गते


Advertisement

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार तीन बालबालिका बेपत्ता भएका छन् ।

दिउँसो करिब २स्०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालबालिकाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार स्थानीय करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन र शेख खुर्सैदकी छोरी रौशन खातुन बेपत्ता भएका हुन् । सबै १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।

सो घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सातजना प्रहरी र जिल्लास्थित सशस्त्र प्रहरी बलका १४ जनाको टोली उद्धारकार्यमा प्रयोग गरिने ‘रबर बोट’सहित घटनास्थलमा परिचालित भए पनि हराएका बालबालिकाको अवस्था अज्ञात रहेको छ ।

बेपत्ता बालबालिकाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीसहित स्थानीयले खोजतलास जारी छ । घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्