Skip

Hamro Sanchar

नर्समाथि कपाल समातेर भुइँमा घिसार्दै कुटपिट , बचाउन पुगेका डाक्टरमाथि मुक्का प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २५ गते


Advertisement

२५ साउन, काठमाडौं । कालिकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू त्रासमा परेका छन्।

अस्पताल परिसरमै नर्समाथि कपाल समातेर भुइँमा घिसार्दै कुटपिट गरिएको र उनलाई बचाउन पुगेका डाक्टरमाथि समेत मुक्का प्रहार भएको पीडित नर्स सावित्री गिरीले बताएकी छन्।

शुक्रबार ओपीडी सेवा सञ्चालन भइरहेका बेला अस्पतालबाहिर केही किशोर मोबाइलमा गेम खेल्दै होहल्ला गरिरहेका थिए।

बिरामीको उपचारमा समस्या भएपछि सुरक्षा गार्डले उनीहरूलाई बाहिर गएर खेल्न आग्रह गरेका थिए। गार्डको आग्रह नमानेपछि डाक्टर र आफूले पनि किशोरहरूलाई अस्पतालबाहिर जान आग्रह गरेको गिरीले बताइन्।

उनका अनुसार केही समयपछि किशोरमध्ये एककी आमा अस्पताल परिसरमा आएर आक्रोशित बनेकी थिइन्। अस्पतालमा गेम खेल्न पाउनु आफ्नो बच्चाको अधिकार भएको भन्दै विवाद गरेपछि स्थिति हिंसामा परिणत भएको गिरीको भनाइ छ।

ती महिलाले आफूलाई कपाल समातेर भुइँमा घिसार्दै कुटपिट गरेको र त्यसक्रममा टाउको तथा मेरुदण्डमा चोट लागेको गिरीले बताएकी छन्। चक्कर आउने र हिँडडुल गर्नसमेत कठिन हुने समस्या रहेको उनको भनाइ छ। नर्सलाई बचाउन पुगेका डाक्टरमाथि पनि ती महिलाका किशोर छोराले टाउकोमा दुई पटक मुक्का प्रहार गरेको उनले बताइन्।

त्यसपछि महिलाका श्रीमान् ठूलो ढुंगा बोकेर अस्पताल पुगेको र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्न अघि बढेको गिरीको आरोप छ। सहकर्मीहरूले आफूलाई अस्पतालभित्र लगेर गेट बन्द गरेपछि थप आक्रमणबाट जोगिएको उनले बताइन्।

घटनालगत्तै इलाका प्रहरी कार्यालय थिर्पु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली अस्पताल पुगेपछि अवस्था नियन्त्रणमा आएको थियो। हाल गिरीको कालिकोट अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्