२५ साउन, काठमाडौं । दोलखाको यलुङ–रि हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ।
गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार शुक्रबार नै शव फेला परेको थियो।
मौसम प्रतिकूल हुँदा सोमबार मात्रै शव हिमालबाट तल ल्याइएको हो।
त्यसमध्ये दुई जनाको शव हेलिकप्टरबाट आजै काठमाडौं लगिएको पनि इन्स्पेक्टर खड्काले बताए।
उनका अुनसार भेटिएका शवहरू २ नेपालीको छ। उनीहरू दोलखाको गौरीशंकरकै पदम तामाङ र सोलुखुम्बुका मेरे कार्की रहेको इन्स्पेक्टर खड्काले बताए।
त्यस्तै बाँकी तीन शवहरू एक क्यानडेली, एक इटालियन र १ जना जर्मन नागरिकका हुन्।
गत वर्षको कात्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।
त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका थिए।
मृत भेटिएका दुई नागरिकहरू एक जना फ्रान्सेली र एकजना इटालियन थिए। बाँकी ५ जना भने बेपत्ता भएका थिए।
आरोहणको व्यवस्थापन गर्ने कम्पनी ड्रिम डेस्टिनेसनले समय समयमा त्यहाँ खोजी कार्य चलाइरहेको थियो। सोही क्रममा शुक्रबार शव भेटिएका हुन् ।































