२४ साउन, काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखापरेको खाना पकाउने एलपी ग्यासको अभाव अब क्रमशः सहज हुँदै गएको छ।
गत असार ३१ गतेदेखि पुनः १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर ग्यास बिक्री गर्न थालिएसँगै सुरुमा केही अभावजस्तो देखिए पनि भारतबाट आयातमा भएको वृद्धि र प्रभावकारी वितरणका कारण अवस्था सामान्य बन्दै गएको नेपाल आयल निगमले जनाएको छ।
निगमका एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसि) को रिफाइनरीबाट अहिले पनि दैनिक १०० भन्दा बढी बुलेट ग्यास नेपाल भित्रिरहेको छ। चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा निकै राम्रो परिमाण हो।
पश्चिम एसियाको परिस्थितिलाई मध्यनजर गर्दै गएको फागुनदेखि ७.१ किलोको आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाइएको थियो तर उपभोक्ताले पूर्ण सिलिन्डर नै बढी रुचाएका कारण केही समय बजारमा असन्तुलन देखिएको थियो। अब बजारमा ग्यासको आपूर्ति सामान्य हुँदै गएकाले आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न निगमले आम उपभोक्तालाई आग्रह गरेको छ।
ग्यासको सहज आपूर्तिको सुनिश्चितताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिको मन्त्री गौरीकुमारी यादवसहित निगमका उच्च अधिकारीहरूले विभिन्न ग्यास उद्योग तथा डिपोहरूको अनुगमनलाई तीब्र बनाएका छन्। शनिबार मन्त्री यादवको टोलीले बालाजु र टेकु क्षेत्रका विभिन्न ग्यास डिपो तथा उद्योगहरूको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव वा कालोबजारी नभेटिएको र सर्वसाधारणले सहज रूपमा ग्यास पाएको पाइएको छ।
साथै निगमको केन्द्रीय कार्यालयमा सञ्चालनमा ल्याइएको ‘क्विक रेस्पोन्स टिम’ (द्रुत प्रतिक्रिया टोली) ले उपभोक्ताहरूबाट आएका ५०० भन्दा बढी गुनासोहरूको सफलतापूर्वक सम्बोधन गर्दै ग्यासको उपलब्धताका लागि सहजीकरण गरिरहेको छ।































