Skip

Hamro Sanchar

४ सय १८ किलो गाँजा सहित पक्राउ परे ४ जना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

२३ साउन, काठमाडौं । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–क्षेत्रबाट ४ सय १८ किलो लागुऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शनिबार बिहान करिब साढे ५ बजे गुप्तबराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा गाँजा फेला परेको हो।

बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी जाँच गरेको थियो। त्यसक्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा राखिएको ४ सय १८ किलो गाँजा भेटिएको सुनसरी प्रहरीले जनाएको छ।

घटनामा कार चालक धरान–१३ का ३४ वर्षीय थमन राई र ओखलढुंगा मानेभञ्ज्याङकी २२ वर्षीया जिवनी राई पक्राउ परेका छन्।

यस्तै, मोटरसाइकलमा सवार मोरङको कटहरी गाउँपालिकाका २६ वर्षीय अमर कामत र ३८ वर्षीय शंकर चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका चारै जनालाई बरामद गाँजा र सवारीसाधनसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। ।


प्रतिकृया दिनुहोस्