२१ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव बिहीबार नेपाल ल्याइएको छ । उनको शुक्रबार बिहान स्वयम्भूमा अन्त्येष्टि गरिने छ ।
साउन १४ मा हिमपहिरोमा परेर मृत्यु भएका उनको शव बिहीबार साँझ कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए । उनी युक्ताको शव लिएर फर्किएका छन् ।
युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहीबार नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ । शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ ।
गुरुङको घर गोरखाको लाप्राक हो । उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य थिए ।
आरोहणको क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो ।
पुर्जाको परिवार बेलायत भएकाले उनको उतै अन्त्येष्टि गर्ने तयारी छ । बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्याएपछि ल्याइने छ ।































